सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ मसिनाटोलमा छोराले कुटपिट गर्दा आमाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार स्थानीय ३२ वर्षीय कबिराम बस्नेतले शुक्रबार बिहान करिब ७ बजे आफ्नी आमा ५० वर्षीया धनिकला बस्नेतमाथि फरुवाले प्रहार गरेका थिए। घरमै सुतिरहेकी आमाको टाउकोमा लागेको चोटका कारण उनी गम्भीर घाइते भएकी थिइन्।
गम्भीर अवस्थामा रहेका धनिकलालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेत ल्याइएको थियो। तर बिहान करिब ८:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि फरार रहेका छोरा बस्नेतलाई प्रहरीले छिन्चु बजार क्षेत्रबाट पक्राउ गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको छ।








