कालिकोट । २०७४ सालदेखि भाडामा सञ्चालन हुँदै आएको खाँडाचक्र नगरपालिकाले अब आफ्नै भवन पाउने भएको छ। नगरपालिकाले १९ करोड ६२ लाख रुपैयाँ लागतमा विविध कार्यका लागि उपयुक्त प्रशासनिक भवन निर्माण सुरु गरेको हो। नगरप्रमुख कमलबहादुर शाही र प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई,पूर्व नगर प्रमुख जसी प्रसाद पाण्डेको उपस्थितिमा भवनको शिलान्यास गरिएको छ।
नगरपालिकासँगै वडा कार्यालय र विभिन्न शाखाहरू भाडामा सञ्चालन भइरहेकाले नयाँ भवन बनेपछि प्रशासनिक सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ। ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आरएन्डसीएस निर्माण सेवाले ठेक्का लिएको छ। ३७ मिटर चौंडाइ र १६ मिटर लम्बाइको यो भवन आधुनिक सुविधासहित निर्माण गरिनेछ।
नगरप्रमुख कमलबहादुर शाहीले भवन निर्माणलाई ऐतिहासिक उपलब्धि भन्दै तोकिएको समयमै काम सम्पन्न गर्नुपर्नेमा जोड दिए। “हाम्रो पालिकाले धेरै वर्षसम्म भाडाको भरमा काम गर्नुपर्यो। अब नगरवासीले आफ्नै भवनबाट प्रभावकारी सेवा पाउनेछन्। यो केवल इँटा र सिमेन्टको संरचना होइन, हाम्रो आत्मनिर्भरताको संकेत हो,” उनले भने।
उनले निर्माण कम्पनीलाई कडा सन्देश दिँदै भने, “काम समयमा सकिएन भने,गुणस्तरमा कुनै कमी भयो भने, ठेकेदारले भोग्नुपर्ने परिणाम गम्भीर हुनेछ। ढिलासुस्ती र अलपत्र पार्ने प्रवृत्तिको कुनै ठाउँ छैन।”
शिलान्यास कार्यक्रममा स्थानीय नेताहरू, नेपाली कांग्रसका जिल्ला सभापति अम्म वहादुर शाही, नेपाली कांग्रेस कर्णाली प्रदेश प्रवक्ता दमनराज शाही, वडाध्यक्षहरू, निमित्त प्रमुख प्रशासकीय अधिकृत अबिराज शाही, प्राविधिक इन्सिभिल इन्जिनियर रत्न वहादुर भण्डारी, सिभिल सव-इन्जिनियर बिरेन्द्र हमाल, सिभिल सव-9इन्जिनियर निर्मला पूर्वे, सिभिल असिस्टेन्ट सव-इन्जिनियर कम्मर वहादुर वम, विभिन्न शाखा प्रमुख, कर्मचारी र निर्माण कम्पनीका प्रतिनिधि अलिबहादुर शाही, नागरिक समाज, पत्रकार, सुरक्षा कर्मी, संचारकर्मी लगायतको उपस्थिति थियो।
पूर्व नगरप्रमुख जसी प्रसाद पाण्डेले निर्माण योजनालाई नगरको लागि महत्वपूर्ण उपलब्धि भन्दै शुभकामना दिएका छन्। उनले भने, “यो भवन खाँडाचक्र नगरपालिकाको विकास र स्वावलम्बनको प्रतीक बन्नेछ। समयमै काम सम्पन्न गरेर हामी यसलाई सम्पूर्ण नगरवासीको फाइदामा पुर्याउन सक्छौं।”
खाँडाचक्र नगरपालिका वडा नम्बर ३ का वडा सचिव भिम प्रसाद पाण्डेले पनि भवनको शिलान्यासलाई ऐतिहासिक मान्दै सबै नागरिकको सेवा प्रवाहमा सुधार हुने विश्वास व्यक्त गरे। “यस भवनले नगरपालिकाको कार्य सञ्चालनलाई सजिलो बनाउनेछ, र हामी सबैको सहयोग र प्रयासले यो परियोजना सफल बनाउनेछ,” उनले भने।
अतिथिहरुले पनि समयमै गुणस्तरीय काम गर्न निर्देशन दिएका छन्। सरकारी निर्माण योजनाहरू ढिलाइ हुने र अलपत्र रहने प्रवृत्तिले देशभर आलोचना खेपिरहेको बेला खाँडाचक्र नगरपालिकाको यो भवन समयमै सम्पन्न हुने अपेक्षा गरिएको छ। दियो खबर बाट साभार