अपडेट

रुकुमपश्चिममा स्वास्थ्य बिमा कार्यक्रमले बिरामीलाई सहज

  ।   २६ पुष २०८१, शुक्रबार १६:५९

रुकुमपश्चिम । रुकुमपश्चिममा सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमले बिरामीलाई सहज भएको छ । तर अस्पताललाई भने समस्या भएको बताइएको छ । बिमाले बिरामीलाई उपचार खर्चमा राहत भएको हो भने अस्पतालले भुक्तानी नपाउँदा समस्या भएको हो ।

स्वास्थ्य बिमा बोर्डका अनुसार जिल्लाका छ वटै पालिकाका २० हजार ८८४ घरधुरीका ८५ हजार ७८८ जनाको स्वास्थ्य बिमा गरिएको छ । बोर्डका जिल्ला संयोजक कमल डाँगीका अनुसार जिल्ला अस्पताल सल्ले, चौरजहारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र कोटजहारी, सहिद स्मृति नगर अस्पताल चौरजहारी, आठबिसकोट नगर अस्पताल र सानीभेरी गाउँपालिका अस्पतालमा प्रथम सेवाविन्दु कायम गरेर स्वास्थ्य बिमा गरिएको छ ।

यी अस्पतालबाट बिरामीले सेवा लिने गरे पनि अस्पतालले भने सरकारबाट नौ करोड १८ लाख ६१ हजार रुपियाँ भुक्तानी नपाएको बताइएको छ । जिल्ला अस्पताल सल्लेका प्रमुख डा। महेश चौलागाईंका अनुसार स्वास्थ्य बिमाबापतको करिब एक करोड २५ लाख रुपियाँ भुक्तानी पाउन बाँकी रहेको छ । अघिल्लो आर्थिक वर्षकै २३ लाख रुपियाँ भुक्तानी भएको छैन भने चालु आव २०८१÷८२ को पनि रकम नपाएको बताए ।

स्वास्थ्य बिमामार्फत सबैभन्दा बढी उपचार सेवा लिने चौरजहारी अस्पतालले पनि पाँच करोड ५३ लाख ६२ हजार ३८६ रुपियाँ पाउन बाँकी रहेको जनाएको छ । अस्पताल प्रशासक डिलबहादुर गिरीका अनुसार गत वैशाखदेखि हालसम्मको रकम नपाउँदा अस्पताललाई समस्या हुन थालेको छ ।

अस्पतालका १२५ जना कर्मचारीले तलबसमेत पाउन नसकेको उहाँले जनाए । चौरजहारी अस्पतालमा वार्षिक एक लाखभन्दा बढी बिरामीले सेवा लिने गरेको र त्यसमध्ये ७४ प्रतिशतले स्वास्थ्य बिमामार्फत सेवा पाउने गरेको अस्पतालको तथ्याङ्क रहेको छ ।

Next Post

कर्णालीमा कृषिलाई व्यवसायीकरण गर्न १० बर्से रणनीतिक योजना गर्ने

२६ पुष २०८१, शुक्रबार १६:५९
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रादेशिक कृषि विकास रणनीतिक योजना निर्माण गर्न लागेको छ । कृषिलाई व्यवसायीकरण गर्न १० बर्से रणनीतिक योजना निर्माण गर्न लागिएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव टीकाराम थापाका अनुसार आर्थिक वर्ष २०८१/८२ देखि २०९१/९२ सम्मका लागि १० बर्से कृषि विकास रणनीतिक योजना […]