सुर्खेत । कर्णाली प्रदेशमा आगामी मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि खेलस्थलको प्रारम्भिक खाका तयार भएको छ। प्रतियोगिताका अधिकांश खेल सुर्खेतमा केन्द्रित गर्ने प्रस्ताव गरिएको छ भने कर्णालीका अन्य जिल्लासहित बाँकेको नेपालगन्जमा समेत विभिन्न खेल सञ्चालन गर्ने तयारी छ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक समितिको आइतबार बसेको बैठकले ३२ खेलका लागि प्रस्तावित खेलस्थल तय गरेको हो। प्रस्तावअनुसार सुर्खेतमा मात्रै २० खेल सञ्चालन गर्ने तयारी छ।
सुर्खेतमा एथलेटिक्स, कुस्ती, ब्याडमिन्टन, कबड्डी, बक्सिङ, कराँते, बास्केटबल, फुल कन्ट्याक्ट कराँते, आईटीएफ तेक्वान्दो, क्रिकेट, फुटबल, ह्यान्डबल, हक्की, ई–स्पोर्ट्स, स्क्वास, रग्बी, साइक्लिङ, तेक्वान्दो, भलिबल र उसु आयोजना गर्ने प्रस्ताव गरिएको छ।
प्रतियोगिताको मुख्य आयोजनास्थलका रूपमा कर्णाली प्रादेशिक रंगशाला लाई केन्द्रमा राखिएको छ। प्रदेश राजधानी सुर्खेतमा निर्माण तथा सञ्चालनमा रहेका खेल पूर्वाधारलाई अधिकतम उपयोग गर्दै धेरै खेल एकै क्षेत्रमा सञ्चालन गर्ने योजना अघि सारिएको हो।
जिल्लाअनुसार फरक–फरक खेल
सबै खेल सुर्खेतमै सीमित नगरी कर्णालीका विभिन्न जिल्लालाई समेत प्रतियोगितासँग जोड्ने प्रस्ताव गरिएको छ। शारीरिक सुगठन सुर्खेत र कालीकोट, जुडो सुर्खेत र जाजरकोट तथा जिम्न्यास्टिक सुर्खेत र दैलेखमा सञ्चालन गर्ने प्रस्ताव छ।
त्यस्तै, टेबल टेनिसका लागि सल्यान, बुद्धिचालका लागि दैलेख, खो–खोका लागि पश्चिम रुकुमको चौरजहारी तथा आर्चरीका लागि जुम्लालाई प्रस्तावित खेलस्थल तोकिएको छ। सेपाकताक्रोका लागि सुर्खेतको छिन्चु प्रस्ताव गरिएको छ।
भारोत्तोलन भने सुर्खेतसँगै बाँकेको नेपालगन्जमा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।
नेपालगन्जमा चार खेल
कर्णाली प्रदेशमा हुने राष्ट्रिय खेलकुद प्रतियोगितालाई आवश्यक पूर्वाधारको उपलब्धता र खेल सञ्चालनको सहजताका आधारमा प्रदेशबाहिरसम्म विस्तार गर्ने प्रस्ताव गरिएको छ।
प्रस्तावित योजनाअनुसार नेपालगन्जमा सुटिङ, पौडी, टेनिस र भारोत्तोलनका खेल सञ्चालन गरिनेछ। पूर्वाधारको अवस्था, खेलाडी तथा दर्शकको सहजता र प्रतियोगिता सञ्चालनका लागि आवश्यक भौतिक संरचनालाई आधार बनाएर खेलस्थल छनोट गरिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले जानकारी दिएका छन्।
पूर्वाधार र व्यवस्थापन मुख्य चुनौती
कर्णालीमा पहिलोपटक ठूलो स्तरको राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन लागेकाले खेलस्थल व्यवस्थापनसँगै पूर्वाधार निर्माण तथा स्तरोन्नति, खेलाडी र निर्णायकको आवास, यातायात तथा अन्य व्यवस्थापनलाई मुख्य चुनौतीका रूपमा हेरिएको छ।
प्रस्तावित खेलस्थलको टुंगो लागेसँगै सम्बन्धित जिल्ला र स्थानीय तहमा प्रतियोगिताको तयारी थप तीव्र हुने अपेक्षा गरिएको छ। प्रतियोगितामा प्रदर्शनी खेल समावेश गर्ने विकल्पसमेत खुला राखिएको छ। सह–आयोजक कर्णाली प्रदेशबाट सिफारिस भएका उपयुक्त खेललाई प्रदर्शनी खेलका रूपमा समावेश गर्न सकिने प्रस्ताव गरिएको छ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णालीका खेल पूर्वाधारको प्रयोगसँगै प्रदेशका विभिन्न जिल्लालाई राष्ट्रिय खेलकुदको गतिविधिसँग जोड्ने अवसरसमेत दिने अपेक्षा गरिएको छ।







