आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा निधन

  ।   २६ असार २०८३, शुक्रबार १३:०५

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।

वीर अस्पतालको बर्न सेन्टरमा उपचाररत नेपालीको शुक्रबार बिहान मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिएका छन्। उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको अवस्थामा अस्पताल भर्ना गरिएको थियो।
परिवारका अनुसार अस्पतालले निधनबारे जानकारी दिएको भए पनि औपचारिक घोषणा भने हुन बाँकी छ। घटनापछि प्रधानमन्त्रीको सचिवालयका प्रतिनिधि तथा सम्बन्धित निकायका अधिकारीहरू अस्पताल पुगेर मृतकका परिवारसँग समन्वय गरिरहेका छन्। अस्पताल परिसरमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।

भक्तपुरमा परिवारसँग बस्दै आएका गणेश नेपाली राइड–सेयरिङ एपमार्फत जीविकोपार्जन गर्दै आएका थिए। महानगर प्रहरीले उनको मोटरसाइकलमा ह्विल लक लगाएपछि उत्पन्न विवादका बीच उनले सार्वजनिक स्थलमै पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए।

यस घटनाले श्रमिकको जीविकोपार्जन, सार्वजनिक निकायको व्यवहार र नागरिक–राज्य सम्बन्धबारे गम्भीर बहस सिर्जना गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।