सल्यानमा अटो दुर्घटना: १० जना घाइते, २ जनाको अवस्था गम्भीर

  ।   १९ माघ २०८२, सोमबार १९:३२

सल्यान । सल्यानको श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको अटो सोमबार दिउँसो दुर्घटनामा परेको छ। रा १ ह २१९५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खस्दा अटोमा सवार ११ जनामध्ये १० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटना सोमबार दिउँसो करिब २ बजे भएको हो। दुर्घटनापछि प्रहरी निरीक्षक पूर्णबहादुर केसीको नेतृत्वमा खटिएको ९ जनाको टोलीले घटनास्थलमा पुगेर तत्काल उद्धार कार्य सम्पन्न गरेको थियो। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेहरूमध्ये ७८ वर्षीय वृद्ध टरबहादुर रेउले र ३ वर्षीया बालिका सृष्टि बि।क।को अवस्था गम्भीर रहेको छ। अन्य घाइतेहरूको अवस्था मध्यम र सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।

दुर्घटनामा संलग्न अटो चालक शारदा नगरपालिका–६ निवासी २५ वर्षीय अर्जुन डाँगी भने सकुशल रहेका छन्। प्रहरी अनुसन्धानका क्रममा चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको पाइएको छ। चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

प्रहरीका अनुसार सवारी साधनको अवस्था, सडकको भौगोलिक बनावट तथा चालकको लापरवाहीलगायतका विषयमा अनुसन्धान भइरहेको छ। पछिल्लो समय सल्यानका ग्रामीण सडकहरूमा सवारी दुर्घटना बढ्दै गएको भन्दै प्रहरीले सवारी चालकहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ।

गम्भीर घाइते:
टरबहादुर रेउले (७८ वर्ष), सिद्धकुमाख गाउँपालिका–१,  सृष्टि बि.क. (३ वर्ष), बनगाड कुपिण्डे नगरपालिका–९

मध्यम घाइते:  दीपक बि.क., सिद्धकुमाख गाउँपालिका–२,रेशम बहादुर नेपाली, शारदा नगरपालिका–११, दीपक बि.क, बनगाड कुपिण्डे नगरपालिका–९

Next Post

नयाँ अनुहार, पुराना दल : सुर्खेत चुनावमा सत्ता समीकरण बदलिने संकेत

१९ माघ २०८२, सोमबार १९:३२
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। विगतमा बलियो पकड बनाउँदै आएको नेपाली कांग्रेस आफ्नो राजनीतिक विरासत जोगाउने तयारीमा जुटेको छ भने नेकपा (एमाले) लगायत अन्य दल कांग्रेसको दबदबा तोड्ने रणनीतिसहित चुनावी मैदानमा उत्रिएका छन्। अघिल्लो […]