उपप्रमुख ऐश्वर्या मल्लद्वारा ‘अण्डा उपहार कार्यक्रम’ प्रभावकारी रूपमा सञ्चालन
रतन रावल,
मुगु। कर्णाली प्रदेशको दुर्गम जिल्ला मुगुमा अझै पनि शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवा सीमित मात्रामा उपलब्ध छन्। विशेषगरी गर्भवती र सुत्केरी महिलाले समयमै स्वास्थ्य सेवा र पौष्टिक आहार नपाउँदा विभिन्न जटिलता देखिने गरेको छ, जसका कारण कतिपय अवस्थामा अकालमै ज्यान गुमाउने अवस्था समेत देखिन्छ।
मुगुका गरिब, दलित तथा विपन्न परिवारका गर्भवती र सुत्केरी महिलाहरूले चिकित्सकले सिफारिस गरेका पौष्टिक खानेकुरा उपभोग गर्न नपाउने अवस्था व्यापक छ। आर्थिक अभाव, चेतनाको कमी र दुर्गम भौगोलिक अवस्थाका कारण ग्रामीण भेगका महिलाहरू आवश्यक पोषणबाट वञ्चित हुँदै आएका छन्।
यही यथार्थलाई मध्यनजर गर्दै छायाँनाथ रारा नगरपालिकाकी उपप्रमुख ऐश्वर्या मल्लले गर्भवती, सुत्केरी महिला र नवजात शिशुको पोषणमा सुधार ल्याउने उद्देश्यले घरदैलोमै पुगेर अण्डा, तेल तथा नगद सहयोग वितरण गर्ने कार्यक्रम सञ्चालन गरेकी छन्।
नगरपालिकाका वडा नं. १ देखि १४ सम्मका ८७ बस्तीका सुत्केरी आमा, गर्भवती महिला र नवजात शिशुलाई लक्षित गरी पोषण कार्यक्रम सञ्चालन भइरहेको छ। यसअन्तर्गत प्रत्येक सुत्केरी महिलालाई एक क्यारेट अण्डा, दुई प्याकेट तेल र एक हजार रुपैयाँ नगद प्रदान गरिँदै आएको छ।
वडा नं. १४, बाम गाउँकी सुत्केरी आमा करिस्मा बुढा भन्छिन्,
“सानो भए पनि यो अण्डा उपहारले हामीजस्ता गर्भवती र सुत्केरी महिलाको पोषणमा सुधार ल्याएको छ। यसले नवजात शिशुको स्वास्थ्यमा पनि सकारात्मक असर पारेको छ।” उनका अनुसार विगतमा पोषणयुक्त खाना नपाउँदा धेरै आमा र बच्चा कमजोर देखिन्थे।
यस्तै, सदरमुकाम गमगढी नजिकैको वडा नं. १ की सिर्जना नेपालीले पनि दलित र विपन्न महिलाले गर्भावस्थामा भोग्नुपर्ने सास्ती उल्लेख गर्दै भनिन्, “सानो सहयोग भए पनि उपमेयरज्यूबाट अण्डा, तेल र नगद पाउँदा निकै खुसी लागेको छ। यसले हाम्रो हौसला बढाएको छ।” उपप्रमुख ऐश्वर्या मल्लका अनुसार नगरपालिकाले घरमै सुत्केरी हुने संख्या शून्यमा झार्ने र आमा–शिशुको पोषण सुधार गर्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि यो कार्यक्रम कार्यान्वयन गरेको हो।
“नगर उपप्रमुखसँग न्यून आयस्रोत भएका गर्भवती तथा सुत्केरी महिला भेटघाट कार्यक्रमअन्तर्गत पोषण सहयोग वितरण गरिएको हो,” उनले भनिन्। उनका अनुसार हालसम्म ८० जना भन्दा बढी सुत्केरी महिलालाई पोषण सामग्री वितरण भइसकेको छ भने बाँकी लक्षित महिलालाई पनि निरन्तर रूपमा सहयोग प्रदान गरिँदै छ। सुत्केरी महिलाको घरमै पुगेर जनप्रतिनिधिबाटै पोषण सामग्री हस्तान्तरण गरिने व्यवस्था गरिएको उनले जानकारी दिइन्।
दुर्गम क्षेत्रमा सञ्चालन भइरहेको यो ‘अण्डा उपहार कार्यक्रम’ ले गर्भवती, सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासीहरूको विश्वास छ।







