मध्यपश्चिम विश्वविद्यालयमा फेरि किचलो: हचुवाको भरमासरुवाविरुद्ध कर्मचारी आन्दोलित

  ।   १४ श्रावण २०८२, बुधबार २१:४४

सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयमा फेरि एकपटक आन्तरिक विवाद चुलिएको छ। विश्वविद्यालय स्थापना कालदेखि नै आन्दोलन र असन्तोषको घेरामा पर्दै आएको यो शिक्षालय अहिले फेरि बिना कार्यविधि गरिएको कर्मचारी सरुवाको कारण विवादमा तानिएको छ। तीनवटा कर्मचारी संघ–संस्थाले सरुवाको प्रक्रिया अव्यवस्थित र मनोमानी ढंगले गरिएको भन्दै विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरुले सरुवा प्रक्रिया पारदर्शी र मापदण्डअनुसार नभएको भन्दै आक्रोश पोखेका छन्।

प्रजातान्त्रिक कर्मचारी संघका अध्यक्ष भरत धमालाका अनुसार, विगत ५६ महिनादेखि सरुवासम्बन्धी मापदण्ड र कार्यविधि पास गर्न आग्रह गरिए पनि विश्वविद्यालय प्रशासनले कानुनी ढाँचा नबनाईकन एकतर्फी निर्णय गरेको हो।

“रजिष्ट्रारले सरुवाको अधिकार एकल रूपमा आफूमा मात्र रहेको बताउँदै बारम्बार मौखिक सुझावहरू बेवास्ता गरेका छन्,” धमालाले भने, “यो गैरजिम्मेवार र एकलौटी प्रवृत्ति हो।”

साउन ९ गतेको निर्णयअनुसार केही कर्मचारीको सरुवा गरिएपछि असन्तुष्टि उत्पन्न भएको हो। सरुवा साउन १६ गतेदेखि लागू हुने बताइएको छ। रजिष्ट्रार शोभाखर कँडेलले आफू मनोमानी सरुवा नगरेको दाबी गरे पनि कर्मचारी संघले उनको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ। विज्ञप्तिमा भनिएको छ, रजिष्ट्रारसँग सम्पर्क प्रयास गर्दा कार्यकक्षमा नभेटिएको र फोन पनि उठाउन नसकिएको कारण हामी तालाबन्दी गर्न बाध्य भयौं। यस किसिमको भेदभावपूर्ण र बिना प्रक्रिया गरिएको सरुवा तुरुन्त खारेज गरियोस्। संघ–संस्थाले स्पष्ट चेतावनी दिएका छन्यदि मागहरू सम्बोधन भएनन् भने चरणबद्ध आन्दोलन अघि बढाइनेछ।

शैक्षिक उत्कृष्टता र प्रशासनिक पारदर्शिता कायम गर्न स्थापना गरिएको विश्वविद्यालय अहिले आन्तरिक किचलोमा अल्झिएको छ। कर्मचारीको सरुवा प्रक्रियालाई लिएर उठेको प्रश्नले विश्वविद्यालयको प्रशासनिक संरचना र निर्णय प्रक्रियामाथि गम्भीर बहस सिर्जना गरेको छ।

 

Next Post

काठमाडौंमा ट्यांकर र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

१४ श्रावण २०८२, बुधबार २१:४४
  सुर्खेत। काठमाडौंको पेप्सीकोला क्षेत्रस्थित छाप्रो सडकखण्डमा बुधबार राति भएको सवारी दुर्घटनामा एक युवाको ज्यान गएको छ भने अर्का युवक घाइते भएका छन्। बुधबार साँझ ८ः४५ बजे जडिबुटीतर्फबाट आउँदै गरेको बा.प्र.०१.००४ क–३२८७ नम्बरको पानी ट्यांकर र विपरीत दिशाबाट गइरहेको बा.प्र.०२–०३३ प–२५४८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा काभ्रेको रोशी गाउँपालिका–३ स्थायी घर […]