हुम्ला जिल्लाका सातै गाउँपालिकामा रुघाखोकी र ज्वरोका बिरामी वृद्धि

  ।   ६ फाल्गुन २०८२, बुधबार १९:४४

हुम्ला । माघ १० गते परेको हिमपातपछि चिसो बढ्दा हुम्ला जिल्लाका सातै गाउँपालिकामा रुघाखोकी, ज्वरो र दमका बिरामी उल्लेख्य रूपमा बढेका छन्। अत्यधिक चिसोका कारण मौसमी फ्लुका लक्षण देखिने बिरामी दैनिक बढ्दै गएको स्वास्थ्यकर्मीहरूले जनाएका छन्।

सर्केगार्ड गाउँपालिकामा रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या व्यापक देखिएको स्थानीय प्रकाश ऐडीले जानकारी दिए। उनका अनुसार गाउँका प्रायः प्रत्येक घरमा यस्ता बिरामी भेटिएका छन्। सोही गाउँपालिकाको फुचा गाउँमा पनि समान समस्या देखिएको छ। एउटै गाउँमा ६७ जना बिरामी परेपछि आधारभूत स्वास्थ्य सेवा केन्द्रले आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गरी उपचार गर्नुपरेको केन्द्रका संयोजक सूर्यबहादुर ऐडीले बताए।

त्यसैगरी ताँजाकोट गाउँपालिकाका पाँचै वडामा मौसमी फ्लुका बिरामी बढेका छन्। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनराज ढकालका अनुसार चिसो बढेसँगै बालबालिका, वृद्धवृद्धा र दमका बिरामी बढी प्रभावित भएका छन्।

अदानचुली गाउँपालिका, चङ्खेली गाउँपालिका, खार्पुनाथ गाउँपालिका र नाम्खा गाउँपालिकामा पनि पछिल्ला केही दिनयता स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको सम्बन्धित स्वास्थ्य शाखाले जनाएको छ।

हुम्ला जिल्ला अस्पतालमा समेत रुघाखोकी र ज्वरोका बिरामी पहिलेभन्दा करिब १५ प्रतिशतले बढेको अस्पतालका चिकित्सक भिम बुढाले जानकारी दिए। उनका अनुसार दमका बिरामीको संख्या पनि वृद्धि भएको छ।

अस्पतालले अत्यधिक चिसोबाट जोगिन न्यानो कपडा लगाउन, तातो झोलिलो खानेकुरा सेवन गर्न, भीडभाडबाट टाढा रहन र समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। जिल्ला स्वास्थ्य कार्यालयले औषधि आपूर्ति तथा स्वास्थ्यकर्मी परिचालनलाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।

Next Post

लोकतान्त्रिक मूल्य सुदृढीकरणको आह्वानसहित प्रजातन्त्र दिवस

६ फाल्गुन २०८२, बुधबार १९:४४
सुर्खेत । नेपालमा २००७ सालको जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रूपमा मनाइँदै छ। यस अवसरमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदहरू — दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री — को […]

सम्बन्धित शीर्षक