रुकुम पश्चिम। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं कर्णाली प्रदेश सरकारका प्रवक्ता कल्याणी खड्काले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९, कोटजहारीस्थित श्री कालिका भगवती मन्दिरको उद्घाटन गर्नुभएको छ।
कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट विनियोजित १५ लाख रुपैयाँ र स्थानीय चन्दादाताबाट ८ लाख भन्दा बढी संकलित रकमको सहयोगमा मन्दिर निर्माण गरिएको हो। आर्थिक वर्ष २०८२र८३ मा सुरु गरिएको मन्दिरको भौतिक पूर्वाधार निर्माण आर्थिक वर्ष २०८३र८४ मा सम्पन्न भएपछि उद्घाटन गरिएको हो।
मन्दिर उद्घाटन समारोहमा बोल्दै मन्त्री खड्काले स्थानीयवासीको सामूहिक प्रयास र चन्दादाताको सहयोगबाट धार्मिक तथा सांस्कृतिक सम्पदाको निर्माण हुनु सकारात्मक कार्य भएको बताउनुभयो। ‘गरे के नहुने रहेछ, गरे हुँदो रहेछ’ भन्ने उदाहरण यस मन्दिर निर्माणले प्रस्तुत गरेको उहाँको भनाइ छ।
स्थानीयस्तरमा आर्थिक स्रोत जुटाएर धार्मिक आस्थाको केन्द्र निर्माण गर्नु समुदायको एकता, सहकार्य र सक्रियताको उदाहरण भएको उल्लेख गर्दै उहाँले यस्ता प्रयासले स्थानीय संस्कृति र परम्पराको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने धारणा राख्नुभयो।
उद्घाटन समारोहमा पूर्वमन्त्री एवं माननीय रणसिंह परिवारको विशेष आतिथ्यता रहेको हो। कार्यक्रममा डिभिजन वन कार्यालय रुकुम पश्चिमका प्रमुख तथा कर्मचारी, स्थानीयवासी, सरोकारवाला र सञ्चारकर्मीलगायतको सहभागिता रहेको हो।
सरकारी बजेट र स्थानीय चन्दादाताको सहयोगबाट निर्माण सम्पन्न भएको कालिका भगवती मन्दिरले धार्मिक गतिविधिको सञ्चालन, सांस्कृतिक परम्पराको संरक्षण तथा स्थानीय समुदायबीच आपसी सद्भाव र एकता अभिवृद्धिमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।






