बाढीमा मृतकको सङ्ख्या १,१२७ पुग्यो, ४,८५८ जना अझै बेपत्ता

  ।   १७ भाद्र २०८३, बुधबार १३:२८

काठमाडौं । बाढीका कारण जनधनको ठूलो क्षति भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार मङ्गलवार साँझसम्म बाढी प्रभावित विभिन्न स्थानबाट १ हजार १ सय २७ जनाको शव फेला परेको छ। मृतकको सङ्ख्या अझै बढ्न सक्ने देखिएको छ।

प्रहरीका अनुसार ४ हजार ८ सय ५८ जना अझै बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। सम्पर्कविहीन रहेका सयौँ नागरिकको अवस्था अझै अज्ञात रहेको अधिकारीहरूले बताएका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहले सरकार प्रारम्भिक चरणको खोज, उद्धार तथा राहत वितरणको कामबाट क्रमशः पुनःस्थापना र पुनर्निर्माणतर्फ अघि बढिरहेको बताएका छन्। विपद्बाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्दै आवश्यक सहयोग उपलब्ध गराउने कामलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ।

यसैबीच, जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा समेत मानिसहरू जीवितै फसेको हुन सक्ने आशङ्कामा खोजी कार्यलाई तीव्रता दिइएको अधिकारीहरूले बताएका छन्। केही दिनयता विदेशी उद्धार टोलीसमेत खोज तथा उद्धार अभियानमा संलग्न हुँदै आएका छन्।

बाढीका क्रममा नदी तथा विभिन्न स्थानमा फेला परेका तर तत्काल पहिचान हुन नसकेका शवहरूको अस्थायी व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। फेला परेका शवमध्ये अझै थोरैको मात्र सनाखत हुन सकेको छ।

हराइरहेका नेपाली तथा विदेशी नागरिकको पहिचानका लागि प्रहरीले डीएनए परीक्षणको प्रक्रिया अघि बढाएको जनाएको छ। बेपत्ता व्यक्तिका नजिकका रगतका नातेदारले अनुरोध गरेमा उनीहरूको ताजा रगतको नमुना सङ्कलन गरी डीएनए परीक्षणमार्फत फेला परेका शवको पहिचान गर्न सकिने प्रहरीले जनाएको छ।

बेपत्ताको खोजी, शवको पहिचान र प्रभावित नागरिकको पुनःस्थापनाको काम चुनौतीपूर्ण बन्दै गएको अवस्थामा सरकारी निकाय तथा सुरक्षा संयन्त्रले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिएका छन्।

Next Post

विपद् कोषमा ६ अर्बभन्दा बढी रुपैयाँ र ६१ लाख अमेरिकी डलर जम्मा

१७ भाद्र २०८३, बुधबार १३:२८
प्रतिनिधि सभा बैठकमा दलका नेताहरुको सम्बोधन {Live} प्रतिनिधि सभा बैठक, २०८३ भदौ १७ गते, बुधबार https://www.facebook.com/share/v/19VYCXPJAh/ काठमाडौं । प्रधानमन्त्रीले दैवी प्रकोप उद्धार कोषमा हालसम्म ६ अर्ब ८८ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको जानकारी दिएका छन्। उनका अनुसार कोषमा ६१ लाख ४१ हजार अमेरिकी डलरभन्दा बढी रकमसमेत जम्मा भइसकेको छ। […]

सम्बन्धित शीर्षक