डोल्पामा मध्यरात भीषण बाढी: १ जनाको मृत्यु, ६ जना घाइते, १० घरमा क्षति

  ।   २१ असार २०८३, आईतवार ०८:५०

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँस्थित धुलाखोलामा आइतबार बिहान करिब ३ बजे अत्यधिक वर्षापछि हिलोमाटोसहित आएको आकस्मिक बाढीले बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार बाढीका कारण १० वटा घरमा क्षति पुगेको छ।

घटनामा अन्दाजी ५६ वर्षीया आनन्दी बि।क।को मृत्यु भएको छ। प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले उहाँलाई उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याकोटतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैबीच, बाढीमा परी ३ महिला, १ पुरुष र २ बालिका गरी ६ जना घाइते भएका छन्। घाइतेहरूको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।

इलाका प्रहरी कार्यालय काइगाउँ र प्रहरी चौकी माझगाउँबाट खटिएको प्रहरी टोली स्थानीयवासीको सहयोगमा उद्धार तथा राहत कार्यमा जुटिरहेको छ। साथै, जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षक पदम रावलको कमान्डमा थप ५ सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।

प्रहरीका अनुसार घटनाबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। निरन्तर वर्षा भइरहेकाले बाढी र पहिरोको जोखिम कायमै रहेको भन्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन तथा स्थानीय प्रशासन र सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरिएको छ।

Next Post

नगर प्रमुख शाही नगर प्रहरी सहित दुर्घटनास्थ, खोजीकार्य तीव्र

२१ असार २०८३, आईतवार ०८:५०
कालिकोट । असार १८ गते भएको दुःखद सवारी दुर्घटनापछि खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको छ। सुर्खेतबाट रास्कोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेख जिल्लाअन्तर्गत कर्णाली राजमार्गको पाल्तडा–साङ्गेतडा क्षेत्रमा कर्णाली नदीमा खस्दा बेपत्ता भएको घटनापछि नेपाल प्रहरी, स्थानीय प्रशासन, उद्धार टोली, यातायात व्यवसायी, नगर […]