सल्यान । सल्यान जिल्लाको कालिमाटी गाउँपालिका–३ साठिघरेमा बाघको आक्रमणबाट एकै परिवारका ९ वटा बाख्रा मरेका छन् भने २ घाइते र २ अझै बेपत्ता छन्। स्थानीय किसान सागर रेउलेका बाख्रालाई धनारी सामुदायिक वनमा चराइरहेका बेला चैत ३ गते दिउँसो करिब ३ बजे बाघले आक्रमण गरेको हो।
बाख्रापालन मुख्य आम्दानीको स्रोत भएका रेउले परिवार यस घटनापछि गम्भीर आर्थिक संकटमा परेको छ। घटनाका बेला किसान घरबाहिर रहेका कारण फोनमार्फत मात्र जानकारी पाएको बताएका छन्।
स्थानीयका अनुसार नजिकैको बाँके राष्ट्रिय निकुञ्जबाट बाघ गाउँ पस्ने क्रम बढ्दै जाँदा त्रास फैलिएको छ। केही समयअघि सोही क्षेत्रमा बाघकै आक्रमणबाट मानवीय क्षतिसमेत भइसकेको छ।
वडा अध्यक्ष शिवबहादुर खत्रीका अनुसार पीडितलाई राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ। वन्यजन्तुबाट हुने क्षतिअनुसार सरकारले सहयोग गर्ने बताइएको छ।
स्थानीयलाई सतर्क रहन आग्रह गर्दै पछिल्लो समय वन्यजन्तुको गतिविधि बढेको भन्दै सुरक्षामा ध्यान दिन अनुरोध गरिएको छ।






