अपडेट

तीन दिनपछि खुल्यो कर्णाली राजमार्ग, अलपत्र यात्रु आफ्नो गन्तव्यतर्फ

  ।   १७ भाद्र २०८२, मंगलवार १३:०७

कालीकोट। कर्णाली प्रदेशलाई देशका विभिन्न भागसँग जोड्ने जीवनरेखा मानिने कर्णाली राजमार्ग तीन दिनपछि सञ्चालनमा आएको छ। अविरल वर्षासँगै शुभकालिका गाउँपालिका–१, गगने खोलामा खसेको ठूलो ढुंगा र लेदोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको थियो। राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू बाटैमा अलपत्र परेका थिए भने जुम्लाबाट सुर्खेत, नेपालगञ्ज, काठमाडौँलगायतका बजारतर्फ पठाइएको करोडौं मूल्य बराबरको स्याउ कुहिने संकटमा परेको थियो।

जुम्ला सडक डिभिजन कार्यालयका अनुसार विशाल ढुंगा फुटाउन कठिनाइ भएकाले नेपाली सेनाको प्राविधिक टोली मान्मबाट विशेष उपकरणसहित घटनास्थलतर्फ खटाइएको थियो। त्यससँगै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र स्थानीयवासीको सक्रिय सहभागिताले निरन्तर प्रयास जारी राखेपछि आज मिति २०८२ भदौ १७ गते दिउँसो ठीक १२:२० बजेबाट राजमार्ग पुनः सञ्चालनमा आएको हो। जुम्ला कृषि विकास कार्यालयका अनुसार अवरोधका कारण २३ वटा ट्रकमा लोड गरिएको करिब १८४ मेट्रिक टन स्याउ बाटोमै रोकिएको थियो। यसको मूल्य करिब रु. १३ करोड बराबर हुने बताइएको छ। किसान र व्यापारीलाई तीन दिनदेखि स्याउ कुहिने चिन्ता थियो। राजमार्ग खुलेसँगै अब ती ट्रकहरू सुर्खेत, नेपालगञ्ज हुँदै काठमाडौंजस्ता ठूला बजारतर्फ गन्तव्यमा अघि बढेका छन्।

तीन दिनसम्म बाटोमै रोकिएर सास्ती खेपिरहेका यात्रुहरू राजमार्ग सञ्चालनसँगै गन्तव्यतर्फ अघि बढ्न पाउँदा खुसी भएका छन्। अलपत्र यात्रु बालाराम नेपाली भन्छन्, “गन्तव्यमा पुगिसक्ने बेला बाटोमै रोकिएर ठूलो समस्या भएको थियो। आज बाटो खुलेपछि राहत महसुस गरेका छौं।” यद्यपि अविरल वर्षा जारी रहेकाले अझै पनि पहिरो खस्ने जोखिम कायमै रहेको प्राविधिक टोलीले चेतावनी दिएको छ। जिल्ला प्रशासन कार्यालय कालीकोटले अत्यावश्यक बाहेक यात्रामा नगर्न र यात्रा गर्नु परेमा मौसम तथा सडक अवस्थाको पूर्ण जानकारी लिन आग्रह गरेको छ।

कर्णाली राजमार्ग अवरुद्ध हुँदा केवल यात्रु वा किसान मात्र होइन, सम्पूर्ण प्रदेशकै जनजीवन प्रभावित हुन्छ। यस मार्गमार्फत दैनिक उपभोग्य सामग्रीदेखि कृषिजन्य उत्पादनसम्मको आपूर्ति हुने भएकाले यसको सञ्चालन प्रदेशको आर्थिक र सामाजिक जीवनसँग प्रत्यक्ष जोडिएको छ। आजको सफलतापछि राजमार्ग खुले पनि स्थानीय, व्यापारी र यात्रुहरूले दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरेका छन्। बारम्बार पहिरोले राजमार्ग अवरुद्ध हुँदा क्षति व्यहोर्नु परेको उनीहरूको गुनासो छ।

Next Post

पुनः कर्णाली राजमार्ग अवरुद्ध

१७ भाद्र २०८२, मंगलवार १३:०७
कालीकोट। कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा गएको लगातार पहिरोका कारण कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालयका अनुसार २०८२ भदौ १४ गतेदेखि पूर्ण अवरुद्ध बनेको सो राजमार्ग प्राविधिक निकाय, नेपाली सेना र स्थानीय प्रशासनको अथक प्रयासपछि मङ्गलबार (भदौ १७) दिउँसो करिब १२ बजे मात्रै सञ्चालनमा आएको […]