अपडेट

वर्षायाममा विषालु च्याउको सेवन सतर्कता अपनाउन विज्ञको सुझाव

  ।   २५ असार २०८२, बुधबार ११:५५
bisalu swau

सुर्खेत । वर्षायाममा च्याउको उपभोग अत्यधिक हुने भएकाले सावधानी अपनाउन वनस्पतिविज्ञले सुझाव दिएका छन् । विषालु च्याउको सेवनले मानिसको मृत्यु नै हुन सक्ने भएकाले सतर्कता अपनाउन विज्ञको सुझाव छ ।

वर्षायाम यस सन्दर्भमा वनस्पति अनुसन्धान केन्द्र सल्यानले सचेतना अभियान सञ्चालन गरिरहेको छ । वर्षा लागेसँगै वनजङ्गल, झाडी र खेतबारी छेउछाउमा विभिन्न किसिमका च्याउ उम्रिन थालेका छन् । उम्रिएका च्याउमध्ये कैयौँ अत्यन्तै विषालु रहेको र जसको सेवनले गम्भीर बिरामी वा ज्यानसमेत जान सक्ने भएकाले सतर्कता अपनाउन अनुसन्धान केन्द्रले आग्रह गरेको हो ।

अनुसन्धान केन्द्रका अनुसार नेपालमा करिब १३ सय प्रजातिका च्याउ पाइने गरेकोमा तीमध्ये एक सयभन्दा बढी प्रजाति विषालु रहेका छन् । वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा। मित्र पाठकले भने, केही प्रजाति त यस्ता छन्, जसको सानो मात्रा सेवनले पनि मानिसको मृत्यु हुन सक्छ । च्याउको गन्ध, स्वाद वा रङ हेरेर मात्र विषालु हो कि होइन भन्ने छुट्याउन नसकिने भएकाले शङ्का लागेमा च्याउ नखानु नै सुरक्षित हुने उनको भनाइ छ । विषालु च्याउ खाँदा वान्ता हुने, पखाला लाग्ने, पेट दुख्ने, मिर्गौलामा समस्या आउने, चेतना हराउने र मृत्युसमेत हुन सक्ने जोखिम हुने डा। पाठकले बताएका छन् । बच्नका लागि सुझाव दिँदै उनले भने, पहिचान नखुलेको च्याउ नखानु, असहज लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नु ,सावधानी नै मुख्य सुरक्षा रहेको उनको भनाइ छ । नेपालमा पाइने घातक विषालु च्याउमध्ये अमेनिटा भाइरोसा पनि एक रहेको वनस्पति अनुसन्धान केन्द्रले जनाएको छ । यो च्याउ प्रायः जङ्गल, झाडी र सिँचाइ भएका सल्लो तथा बाक्लो वन क्षेत्रमा पाइन्छ । यस्तै अमेनिटा कन्सेन्ट्रीका नामको विषालु च्याउ पनि खेत, झाडी र सिँचाइ भएका बाक्लो सल्लो वन क्षेत्रमा देखिने गरेको छ ।

केन्द्रका अनुसार अमेनिटा लङगिस्ट्रियाटा, अमेनिटा फालोइडेस र अमेनिटा सबग्लोबोसा पनि खेत, झाडी तथा सिँचाइ भएका वन क्षेत्रमा फैलिएको पाइन्छ । यी सबै च्याउ अत्यन्त मिल्दोजुल्दो देखिने तर घातक विष बोकेका हुन्छन् । अमेनिटा भर्ना प्रजातिसमेत सल्लो वन र झाडीमा उम्रने विषालु च्याउको सूचीमा पर्छ । अमेनिटा समूहबाहेक अन्य केही विषालु च्याउमा ग्यालेरीना मर्जिनाटा रहेको छ । तराईदेखि उच्च पहाडसम्मका स्याउ, सल्लो, खेत र झाडीमा यो च्याउ पाइन्छ । यस्तै माइसिना पुरा नामको च्याउ पनि सिँचाइ भएका खेत, झाडी तथा सल्लो वन क्षेत्रमा फस्टाउँछ । यसै गरी पाक्सिलस इनभोलुटस नामको च्याउ पनि हाल नेपालमा खतरनाक विषालु च्याउको रूपमा चिनिएको छ ।

Next Post

कालीकोट तिलागुफामा ७ जनाको ठाउँमा ८८ जना कर्मचारी करारमा भर्ना

२५ असार २०८२, बुधबार ११:५५
कालीकोट । कालीकोट जिल्लाको तिलागुफा नगरपालिकाले सात जनाको ठाउँमा ८८ जना कर्मचारी करारमा भर्ना गरेको पाई्एको छ । नगरपालिकाको कर्मचारीको कुल दरबन्दी स्वीकृति सङ्ख्या ४७ जना हो । नगरपालिकामा स्वीकृति भएको दरबन्दी सङ्ख्यामा सात जना मात्र खाली छन् । अन्य कर्मचारी विभिन्न क्षेत्रबाट पदपूर्ति भइसकेका छन् तर दरबन्दी अनुसार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत, […]