अपडेट

ओली र भण्डारीको समूह अलग-अलग लाइनमा

  ।   १५ असार २०८२, आईतवार २०:२७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी  (एमाले) भित्र नेतृत्वको रस्साकस्सी तीव्र बन्दै गएको छ । पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि पार्टीभित्र स्पष्ट ध्रुवीकरण देखा परेको हो ।

१४ असारमा सम्पन्न पार्टीको कार्यक्रममा नेताहरूले आ-आफ्नो धार प्रकट गरेसँगै अध्यक्ष केपी शर्मा ओली र भण्डारीको समूह अलग-अलग लाइनमा हिँड्न थालेको देखिएको छ।

एमाले पदाधिकारी स्रोतका अनुसार हाल १९ पदाधिकारीमध्ये ९ जना भण्डारी समूहतर्फ खुलिसकेका छन् भने ७ जना ओलीको पक्षमा देखिएका छन् । बाँकी दुई जना अझै खुलेर नआएको बताइएको छ। सचिव टोपबहादुर रायमाझी भने निलम्बनमा छन् ।

भण्डारी समूहको नेतृत्व पोखरेलसँग

भण्डारी समूहको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरिरहेको देखिएको छ । अध्यक्ष ओलीको लाइनविरुद्ध मुखर देखिएका पोखरेलले भण्डारीको सक्रियता पक्षमा आवाज उठाउँदै आएका छन् । उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य पनि सो समूहमा रहन सक्ने अनुमान गरिएको छ। यी नेताहरू पहिले पनि ओलीको लाइनमा देखिएका थिएनन् र पार्टी विधानमा रहेको ७० वर्षे उमेर सीमा तथा दुई कार्यकालको सीमालाई समर्थन गर्दै आएका छन् ।

उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पनि भण्डारी समूहमा पर्ने सम्भावना रहेको स्रोतको दाबी छ । पहिले मन्त्री नियुक्तिमा पनि गुरुङको नाम भण्डारीको सिफारिसमा आएको चर्चा थियो। त्यसैगरी, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा र रघुविर महासेठ भण्डारीसमूहनिकटको रूपमा चर्चा भए पनि सबैको धार स्पष्ट भइसकेको छैन। भट्टराई अहिले संस्थापन पक्षमा देखिन्छन् भने विश्वकर्मा मौन छन् । विष्टले पनि आफ्नो धार प्रष्ट पार्न बाँकी छ । महासेठ पहिला ओली निकट मानिए पनि उनी वामदेव गौतममार्फत पार्टीमा क्रियाशील रहँदै आएका थिए ।

ओली समूहमा ७ पदाधिकारी खुलेर

केपी ओलीको समूहमा उपाध्यक्ष रामबहादुर थापा, गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल खुलेर देखिएका छन् । अध्यक्ष भण्डारीको घोषणाको भोलिपल्टै महासचिव पोखरेलले सार्वजनिक रूपमा आलोचना गरेका थिए । उनले केही दिनअघि पार्टी सचिवालय बैठकमै पूर्वराष्ट्रपतिले सक्रिय राजनीतिमा फर्कन नपाउने गरी विधान संशोधन गर्न प्रस्ताव राखेका थिए ।

सचिव पद्मा अर्याल पनि ओली निकट सचिवकै रूपमा चिनिएकी छन् । यद्यपि, केही समयअघि उनी भण्डारी समूहमा रहेको चर्चा पनि चलेको थियो । उपाध्यक्ष विष्णु पौडेल र सचिव लेखराज भट्ट भने अहिलेसम्म मौन छन् । पौडेल अर्थमन्त्री बनेयता कुनै धारमा खुलेर बोल्न चुकेका छन् ।

पूर्वराष्ट्रपति भण्डारीको सक्रियताले एमालेभित्र नेतृत्वको प्रतिस्पर्धा तीव्र बनाएको छ । एकातिर अध्यक्ष ओली नेतृत्वमा रहेको संस्थापन पक्ष छ भने अर्कोतिर नयाँ लाइनको रूपमा उदाउँदै गरेको भण्डारी समूह, हालको स्थितिले एमालेको आगामी रणनीति र सत्ताभित्रको शक्ति सन्तुलनमा गहिरो प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाइ छ।

Next Post

डोल्पामा लुकीछिपी जुवातास खेलिरहेका पाँच जना पक्राउ

१५ असार २०८२, आईतवार २०:२७
डोल्पा । डोल्पामा लुकीछिपी जुवातास खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम दुनैस्थित बी एण्ड बी होटलको तेस्रो तलामा बाजी नै लगाएर जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका डीएसपी […]

सम्बन्धित शीर्षक