दाङ। घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा भीषण आगलागी भएको छ। राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।
दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र ट्याङ्कर परिचालन गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीले आगो नियन्त्रणमा ल्याउने प्रयास जारी राखेका छन्।
आगलागी भएको स्थान नजिकै बस्ती रहेकाले स्थानीय नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको छ। अधिकारी लम्सालले बाँके र रुपन्देही जिल्लाबाट थप दमकल मगाइएको जानकारी दिएका छन्।
आगलागीको कारण हालसम्म खुल्न सकेको छैन भने क्षतिको विवरण संकलनको कार्य पनि जारी रहेको प्रहरीले जनाएको छ।