सुर्खेत । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले राजिनामा दिने भएका छन्।
आजनै मुख्यमन्त्री राजकुमार शर्मा समक्ष राजिनामा बुझाउने तयारी भइरहेको कांग्रेसबाट सहभागी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार विसीले जानकारी दिए ।
केन्द्रमा समीकरण बदलिसकेपछि हामी सत्तामा बसिरहनुको औचित्य भएन, उनले भने, हामी मार्ग प्रशस्त गरिदिन्छौँ । ८ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसबाट तीन जना मन्त्री रहेका छन् ।
कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री छन् । उनीहरु गत वैशाखमा मात्रै मन्त्री बनेका थिए । मन्त्री विसीका अनुसार राजिनामा दिएर पत्रकार सम्मेलन समेत गरिनेछ।