कालिकोट। जिल्लाको कारागार कालिकोटमा क्षमताभन्दा धेरै कैदीबन्दी छन् । कारागारको क्षमता जम्मा २५ जनाको भएपनि यहाँ अहिले ५८ कैदीबन्दी छन् । ठाउँ अभावका कारणले गोलघेराको सानो ठाउँमा काठले बारेर जसोतसो व्यवस्थापन गरिएको छ ।
जिल्ला कारागारका प्रमुख जेलर नरबहादुर सार्कीका अनुसार १५ जना पुरुष र दश जना महिलाको क्षमता भएको कारागारमा ५८ जना राख्नुपरेको छ। जीर्ण भवन, साँघुरो कोठामा यसरी कैदीबन्दी राख्दा उनिहरुमा थप मानसिक समस्या हुने गरेको छ । पछिल्लो समयमा जिल्ला न्यायाधीश श्री भरत लम्सालको पालामा केही थान मुद्दाको फर्छ्योट भएकाले अलि सहज भएको छ ।
जिल्ला कारागारमा ५३ जना पुरुष छन् भने पाँच जना महिला कैदीबन्दी छन् । महिलाहरुका लागि कारागारको वास सहज भएपनि पुरुषको संङ्ख्या बढी भएकोले समस्या भएको छ ।
जीर्ण भवन र पर्खाल भएकाले कहिले कैदीबन्दी भाग्ने खतरा रहेकाले सुरक्षा सतर्कता जहिले पनि कायम राख्नुपर्ने कर्मचारीको गुनासो छ । जेलर सार्कीले धेरै प्रयासपछि कारागार व्यवस्था विभागले कालीकोटको कैदीबन्दी राख्ने भवन र कार्यलयका लागि नयाँ भवन बनाउनुपर्ने पहिलो लिस्टमा रहेको प्रमुख सार्कीले भने ।