सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले २ ग्राम ६५० मिलिग्राम लागुऔषध (ब्राउनसुगर) सहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति जिल्ला बाँकेको खजुरा गाउँपालिका–८ स्थायी घर भई हाल सुर्खेत बीरेन्द्रनगर नगरपालिका–२ बस्ने २३ वर्षीय सद्दाम हुसेन खाँ हुन्।
गत असोज १० गते साँझ करिब ९ बजे बिरेन्द्रनगर–२ क्षेत्रबाट लागुऔषध कारोवार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीको टोली खटिएको थियो। सोही क्रममा प्रहरीले खाँलाई नियन्त्रित अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट २ ग्राम ६५० मिलिग्राम तौलको ब्राउनसुगर बरामद गरेको प्रहरीको भनाइ छ।
बरामद गरिएको लागुऔषधसहित पक्राउ परेका खाँलाई थप अनुसन्धानका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनसिंह बुढाथोकीले जानकारी दिए।
प्रहरीका अनुसार लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम खाँविरुद्ध मुद्दा दर्ता गरिएको छ।







