पेट दुखेको उपचारका लागि सुर्खेत पुगेकी युवतीको मृत्यू

  ।   ३० चैत्र २०८०, शुक्रबार १२:५३

सुर्खेत । पेट दुखेको भन्दै उपचारका लागि सुर्खेत आएकी युवतीको मृत्यू भएको छ । पश्चिम दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटकी २२ बर्षीया भिमा (रिजुका) गुरुङ बलामी पेट दुखेको भन्दै उपचारका लागि सुर्खेत आएकी हुन ।

भिमा सामान्य चेकजाँचका लागि मात्रै सुर्खेत आएकी थिइन् । वीरेन्द्रनगरको एक निजी अस्पतालमा सामान्य चेकजाँच गराउँदा पाठेघरमा केही समस्या भएको देखियो । त्यस पश्चात उनी देशकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल जाने निधो गरिन् ।

बिहीबार बिहानै उनी अस्पताल भर्ना भएकी थिइन् । हिँडेर आफैं अस्पताल पुगेकी थिइन्, भिमा । अस्पतालमा चेकजाँच गराउँदा ४ महिनाअघि प्रसुति गराउँदा बखत् पाठेघरमा केही सालनाल रहेको कुरा चिकित्सकहरुले जानकारी दिए । भिमाको पेटमा केही महिनाको बच्च समेत थियो ।

पाठेघरलाई सफा गर्नुपर्ने भयो । अप्रेसन गरेर सफा गर्दैगर्दा एक्कासी केही समयपछि नै अस्पतालले मृत घोषणा गरिदिएको भिमाका जेठाजु हर्क बहादुर बलामीले जानकारी दिए । ‘हामी बाहिर बसिरहेको थियौँ, एक्कासी शव बुझ्न भनेपछि, हामी त अचम्मित भयौँ,’उनले भने, ‘हिँडेर अस्पताल गएकी भाई बुहारीको एक्कासी शव बुझ्न भन्दा पत्याउन सकिने कुरै थिएन ।

अस्पतालले दिउँसो तीन बजेतिर मृत घोषणा गरेको थियो । उनका अनुसार परिवारलाई भेट्नै नदिई एक्कासी रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयमै मृत घोषणा गरियो । आफन्तहरुले डाक्टरहरुको लापरबाहीका कारण नै उनको मृत्यू भएको भन्दै आन्दोलन गरिरहेका छन् ।

‘यो प्रदेश अस्पतालले सामान्य पेट दुखेको मान्छेलाई उपचार गर्न नसकेर मार्छ भने प्रदेश अस्पताल कस्का लागि र किन,’ जेठाजु हर्क बलामी भन्छन्, ‘तत्काल छानबिन गरी यस्ता गैरजिम्मेवारी डाक्टरहरुलाई बर्खास्तसँगै कानुनी कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’ भिमाको मृत्यू भएसँगै अस्पताल परिसर तनावग्रस्त छ भने अझै परिवारले शव बुझ्न मानिरहेका छैनन । उचित क्षतिपुर्तीसहित छानविनको माग आफन्तहरुले गरेका छन् ।

यता प्रदेश अस्पतालका सुचना अधिकारी विनोद बस्नेतले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘उहाँको अवस्था गाह्रो नै थियो भन्ने रिपोर्ट छ, अप्रेसन गर्दा भ्रुणलाई फाल्नुपर्ने हुँदा, त्यस क्रममा मृत्यू भएको जानकारी आएको छ,’उनले भने, ‘अझै टेक्निकल विषयमा के भएको हो आज हामी छलफल गर्दैछौँ ।’ प्रदेश अस्पताललाई देशकै उत्कृष्ट भनिएपछि सेवा प्रवाहका विषयमा भने व्यापक प्रश्न उठ्दै आएको छ ।

Next Post

आजदेखि नयाँ वर्ष २०८१ साल सुरु

३० चैत्र २०८०, शुक्रबार १२:५३
काठमाडौ । विक्रम संवत्को पात्रोअनुसार आजदेखि नयाँ वर्ष २०८१ साल सुरु भएको छ । । वैशाख १ गते आज नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाउने गरीन्छ । विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ […]