हुम्ला। अविरल वर्षाका कारण कर्णाली कोरिडोरअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–१ मा पर्ने खच्चा सडकखण्ड पुनः पहिरोले अवरुद्ध भएको छ। लगातारको वर्षाले खसेको पहिरोका कारण यो सडक खण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ।
हुम्ला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलका अनुसार, आइतबारदेखि अवरुद्ध सडक खुलाउने प्रयास जारी छ। डोजरमार्फत पहिरो हटाउने काम भइरहेको छ, तर मौसम अझै असहयोगी छ। अवरुद्धताले गर्दा सदरमुकाम सिमकोट आउजाउ गर्ने ट्रक, बोलेरो लगायतका सवारी साधनहरु बीच बाटोमै रोकिएका छन्।
न त वैकल्पिक बाटो, न त दीर्घकालीन समाधान सडक हरेक वर्ष वर्षायाममा अवरुद्ध हुने गरे पनि यसलाई दीर्घकालीन रूपमा सुधार गर्ने पहल गरिँदैन। खच्चा सडकखण्डमा वर्षायाममा लगातार पहिरो जाने र हिउँदयाममा सुख्खा पहिरोले पनि बाटो भत्काउने क्रम दोहोरिन्छ। वैकल्पिक मार्ग नहुँदा हुम्ला, मुगु र बाजुरा जिल्लाका यात्रु तथा सवारी चालकहरू बारम्बार समस्यामा परिरहेका छन्।
नेपाल प्रहरी, स्थानीयवासी र अन्य सरोकारवालाले सडक खुलाउने प्रयास गरिरहेका छन्। तर हरेक वर्षको जस्तो यसपटक पनि पहिरोले यातायात प्रणालीमा ठुलो अवरोध पुर्याएको छ।
स्थानीय बासिन्दा भन्छन्, “सडक मर्मत र संरक्षणमा सरकारी बेवास्ताले गर्दा हामी वर्षेनी यस्तै समस्यामा पर्ने गरेका छौँ।”
कर्णाली करिडोरको यो खण्डमा बारम्बारको पहिरो र सरकारी चासोको अभावले स्थानीय बासिन्दा तथा यात्रुहरूलाई बिचल्लीमा पारेको छ। दीर्घकालीन योजना बिना हरेक वर्ष संकट दोहोरिने देखिएको छ। वैकल्पिक मार्ग र स्थायी सुधारको आवश्यकता झनै गहिरिँदै गएको छ।







