कालिकोट । कर्णाली प्रदेशमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयअन्तर्गत कार्य सम्पादनमा खानेपानी, सिंचाइ तथा ऊर्जा विकास कार्यालय कालिकोट उत्कृष्ट भएको छ।
आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यसम्पादनमा मन्त्रालयअन्तर्गत खानेपानी, सिंचाइ तथा ऊर्जा विकास निर्देशनालयसहित दश जिल्लाका कार्यालयहरूमध्ये कालिकोट पहिलो भएको हो।
कार्यालयले गत वर्ष विनियोजित रकमको ९२.६५ प्रतिशत बजेट कार्यान्वयन गर्न सफल भएको छ। दोस्रो हुने डोल्पा ९०.२९ प्रतिशत र तेस्रो बन्ने सल्यानले ८०.२३ प्रतिशत खर्च गरी उत्कृष्ट भएको मन्त्रालयका प्रवक्ता वरिष्ठ डिभिजनल इन्जिनियर पद्मराज देवकोटाले बताए।
निर्देशनालयले ९१.११, दैलेखले ८२.०२, हुम्ला ६८.०४, जुम्ला ६४.२३, जाजरकोट ३८.१६, रुकुम पश्चिम २८.१६ र मुगुले २७.२८ प्रतिशत बजेट कार्यान्वयन गरेका छन्। मन्त्रालयमा दुई दिनसम्म सञ्चालन भएको वार्षिक समीक्षा गोष्ठीमा जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजय बुढा र मन्त्रालयका सचिव इन्द्रदेव भट्टले उत्कृष्ट भएका कार्यालय प्रमुखहरू कालिकोटका प्रविन महत, डोल्पाका प्रकाश गिरी र सल्यानका अनुप श्रेष्ठलाई प्रशंसा पत्रसहित सम्मानित गरेका थिए।
त्यस क्रममा मन्त्री बुढाले जनतालाई प्रत्यक्ष लाभ हुने गरी विकास योजनाहरू सञ्चालन गर्ने जोड दिएका थिए।
वार्षिक क्यालेन्डर बनाएर योजनाहरूको कार्यान्वयनतर्फ लाग्न तथा नियमित अनुगमन र मूल्यांकनलाई प्राथमिकता दिँदै थप उत्कृष्ट कार्य गर्न मातहतका निकायलाई उनले निर्देशन दिएका थिए। मन्त्रालयले आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित जम्मा २८ करोड बजेटमध्ये ३ अर्ब २८ करोड ९२.४५ प्रतिशत खर्च गरेको छ। जसमा पूँजीगततर्फ ९०.४५ र चालूतर्फ ६७.३६ प्रतिशत खर्च गरेको मन्त्रालयका प्रवक्ता पद्मराज देवकोटाले जानकारी दिए। जुन खर्च कर्णाली प्रदेशका विकाससँग सम्बन्धित मन्त्रालयहरूका तुलनामा बढी हो।
चालु आर्थिक वर्षमा मन्त्रालयमा ३ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। युगआह्वान राष्ट्रिय दैनिकबाट साभार