कालिकोट । नरहरिनाथ गाउँपालिका–३ कुमालगाउँमा एक महिलाको शंकास्पद अवस्थामा मृत्यु भएको घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ।
२७ वर्षीया मनपुरा अधिकारी बुढा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कालिकोट का डिएसपी हिमबहादुर खत्री का अनुसार मृतकको टाउकोमा गम्भीर चोट देखिएको छ, जसले घटनालाई थप रहस्यमय बनाएको छ।
प्रहरीले घटनामा संलग्नताको आशंकामा मृतकका श्रीमान् कासिराम बुढालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा आइतबार राति भएको कुटपिटका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, कासिरामले आफू निर्दोष रहेको दाबी गरेका छन्।
स्थानीय वडा अध्यक्ष कटकबहादुर बुढा का अनुसार दम्पतीबीच केही समयदेखि पारिवारिक विवाद चलिरहेको थियो।
घटनापछि प्रहरी टोलीले घटनास्थलमा पुगेर मुचुल्का उठाउने, प्रमाण संकलन गर्ने तथा थप अनुसन्धान अघि बढाउने काम गरिरहेको जनाएको छ। सोमबार बिहान करिब ४ बजे मात्र प्रहरीलाई घटनाबारे जानकारी प्राप्त भएको थियो।
मृतकका दुई छोरा र एक छोरी रहेका छन्। घटनाले परिवार मात्र नभई समग्र गाउँ नै शोकमा डुबेको छ।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर सत्य तथ्य पत्ता लगाउन अनुसन्धान तीव्र पारेको जनाएको छ।







