कालीकोट । सोमबार बिहान ७:३० बजे गएको पहिरोका कारण कर्णाली राजमार्गको मान्म–बिहानी सडक खण्ड तीन घण्टादेखि अवरुद्ध भएको छ।
खाँडाचक्र नगरपालिका–५ बिहानी छरेगाडमा पहिरो गएपछि जुम्ला र मुगुतर्फका सवारी साधन रोकिएका छन्।
जिल्ला प्रहरी प्रमुख टेक बहादुर रावतका अनुसार रातिदेखि परेको वर्षापछि पहिरो खसेको हो। पिलिबाट ल्याइएको जेसीभीले पहिरो हटाउने कार्य भइरहेको र आधा घण्टाभित्र सडक खुल्ने अनुमान गरिएको भए पनि यात्रुहरूले ढिलाइ भएको गुनासो गरेका छन्।