काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज पहिलो साता हुनेभएको छ ।
क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले असोज २ देखि ५ गतेसम्म सम्मेलन काठमाडौँमा गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले अहिलेसम्मका लागि जिल्ला अधिवेशन भइरहेको समेत बताउनुभयो । सम्मेलनमा २ हजार ३ सय २३ प्रतिनिधि सहभागी हुने भएको छ ।
सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको केन्द्रीय कमिटी चयन गर्ने महासचिव दीपेश पुनले जानकारी दिनुभयो । उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्नेछन् ।
यस्तै, वर्तमान केन्द्रीय कमिटीले सम्मेलनमा सहभागी हुनका लागि आ–आफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।।
सम्मेलनको उद्घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान र बन्द सत्र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभा हलमा हुनेछ । क्रान्तिकारीले भदौ २० गतेसम्म जिल्ला अधिवेशन गरिसक्नुपर्ने निर्देशन दिएको छ ।